सर्लाही : शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने विषयलाई लिएर चर्किएको विवादले प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएपछि पुनः विरोध प्रदर्शन शुरु भएपछी निषेधाज्ञा लम्बाइएको छ ।
प्रहरीको गोलीबाट सर्लाही बरहथबा–६ का जयशंकर साहको शुक्रबार मृत्यु भएको थियो । सरकारले १० लाख क्षतिपुर्ती दिने र घटनाको छानविनका लागी समिति गठन गरेपनि मृत्यु भएको साहको शव अझैसम्म उठन सकेको छैन् ।
प्रहरीले निर्दोष व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै मृतकका परिवारहरुले प्रदर्शनलाई निरन्तरता दिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबार १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागी कर्फ्यु थपेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल धमलाले जानकारी दिएका छन् ।
कर्फ्युको समयमा कुनै पनि किसिमको भेला गर्न, बाहिर हिँडडुल गर्न तथा सभा एवं सामुहिक गतिविधि गर्न नपाउने बताइएको छ ।
प्रशासनले बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरेको हो ।