काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेमाथि विस्तृत अनुसन्धान सुरु भइसकेको बताएका छन् । बिहीबार सांसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूको प्रश्नमा जवाफ दिँदै लामिछानेले यस्तो धारणा राखेका हुन् ।
सुन तस्करी छानबिन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाए लगत्तै सरकारले प्रतिवेदन कार्यन्वयन गर्ने निर्णय गरेको भन्दै उपप्रधान एवम् गृहमन्त्री लामिछानेले कोही पनि दोषी नउम्कने बताए ।
प्रतिवेदनमा तस्करी प्रकरणमा जीवन चलाउनेको भूमिका महत्वपूर्ण रहेको बारे उल्लेख भएको भन्दै लामिछानेले उनलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने बताए । ‘आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ । प्रतिवेदन कार्यन्वयनमा गइसकेको छ,’ उपप्रधान एवम् गृहमन्त्री लामिछानेले भने, ‘चलाउने लगायतका अन्य धेरै मानिसबारे अनुसन्धान सुरु भइसकेको छ । ’
आयोगको प्रतिवेदनमा केही संवेदनशिल सूचना रहेको भन्दै तत्कालै सो प्रतिवेदन सार्वजनिक नगरिने भन्दै गृहमन्त्री लामिछानेले उपयुक्त समयमा प्रतिवेदन सबैले बढ्नेगरि उपलब्ध हुने बताए ।