काठमाडौं । दुर्गा प्रसाईँको आलोचना गरेको भन्दै एक पूर्व प्रहरी अधिकारीमाथि काठमाडौंमै दिनदहाडै अभद्र व्यवहार गरिएको पाइएको छ ।
दुर्गा प्रसाईँको अभियानको आलोचना गरेको भन्दै अर्घखाँचीका केपी शर्मा पन्थीलाई प्रसाईँको समूहले पशुपति क्षेत्रमा दिउँसै बाँधेर जुत्ताको माला लगाएर भिडियो बनाएको हो ।
सिधाकुरालाई प्राप्त भिडियोमा शर्मालाई केही युवाहरूले अब आइन्दा प्रसाईँको आलोचना नगर्न भन्दै फलामे कुर्सीमा बाँधेर जुत्ताको माला लगाएर भिडियो खिचेको देखिन्छ ।
फलामे कुर्सीको पछाडि हात बाँधेर जुत्ताको माला लगाएर सम्मान गरिएको भन्दै भिडियो खिचेका युवाहरूले अब देखि प्रसाईँको आलोचना नगर्ने शर्तमा मात्रै ति व्यक्तिलाई छाडेको भिडियोमा देखिन्छ ।
‘अब यस्तो बोल्दै जानु भयो भने हाम्रो टोलीले जिब्रो कटिङ गर्छ । जिब्रो कटिङ मात्रै होइन ठोक्दिन्छु । दुर्गा दाइले धेरै सहयोग गर्नु भएको छ । नत्र गोली हान्थे म’ भिडियोमा सुनिन्छ ।
युवाहरूको समूहले गरेको सो दुर्व्यवहार आफू माथि भएको सिधाकुराको सम्पर्कमा आएका केपी शर्मा पन्थी बताए । पन्थीका अनुसार एक टेलिभिजनमा दिएको अन्तरवार्तालाई लिएर उनीमाथि वैशाख ९ गते अभद्र व्यवहार गरिएको थियो ।
‘वैशाख ९ गते केही युवाहररुले पटक पटक भेट्न बोलाए पछि म भेट्न भनेर पशुपति क्षेत्रमा पुगेको थिएँ’ पन्थीले भने, ‘त्यसपछि मलाई फलामे कुर्सीमा बाँधेर जुत्ताको माला लगाइयो, भिडियो खिचियो ।’
सो बेला आफूसँग कुनै प्रमाण नभएका कारण कानुनी उपचारमा जान नसकेको तर २७ वैशाखमा आफूमाथि भएको अभद्र व्यवहारको भिडियो पाएपछि गौशाला प्रहरीमा निवेदन दिएको पन्थीको भनाई छ ।
शर्माका अनुसार उनले इलाममा दुर्गा प्रसाईंले प्रहरी र रवि लामिछाने विरुद्ध गरेको भाषणको आलोचना गरेका थिए । प्रहरी कर्मचारी माथि प्रसाईंले नराम्रो बोलेको र आफूले उक्त कुराको विरोध गरेको शर्माले सिधाकुरालाई बताए ।
गौशाला प्रहरी वृत्तका प्रमुख केशव कुमार थेवेले सिधाकुरासँग उक्त घटनाको पुष्टि गरे । पन्थीको जाहेरीका आधारमा सो कार्यमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको र बाँकी अन्यको खोजी भइरहेको थेवेले बताए ।