काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले खोला किनारको मापदण्डका विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
एमाले काठमाडौँका दीपक निरौलाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा बालेनले जारी गरेको सूचना खारेज गर्नुपर्ने अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिइएको छ ।
ज्ञापन पत्रमा महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोध गरिएको छ ।
महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न समेत माग गरेको छ ।