काठमाडाैँ । धरानमा विमानस्थल बनाउन सम्भव नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
धरान उपमहानगरका मेयर हर्क साम्पाङ्ले बारम्बार धरानमा विमानस्थल बनाउँने दाबी गर्दै आएपछि उक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि प्राधिकरणले समिति गठन गरेको थियो । उक्त समितिले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको प्राधिकरणलाई जनाएको हो ।
हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन माग गर्दै काठमाडौँ आएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आग्रह गरेका थिए । साम्पाङको आग्रहमा मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणलाई उक्त स्थानमा विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि अध्ययन गर्न गठित समितिले धरानमा विमानस्थल बनाउनु नीतिगत र प्राविधिक विषयले सम्भव नहुने निष्कर्ष निकालेको छ ।
उक्त समितिले हवाई नीति, २०६३ अनुसार धरानमा विमानस्थल बनाउन सम्भव नहुने देखाएको छ । उक्त नितिमा तराई तथा भित्री मधेशमा विमानस्थल बनाउँदा नजिकको विमानस्थलको दुरीबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ । तर धरानबाट विराटनगर करिब २३ नटिकल माइलको दूरीमा भएकाले धरानमा विमानस्थल बनाउन सम्भव नहुने निष्कर्ष निकालेको हो । त्यतै प्राधिकरणले धरानमा हवाई सेवा दीर्घकालीन र व्यावसायिक नहुने पनि बताएको छ ।
प्राधिकरणको निष्कर्षसँगै उता धरानका मेयर हर्क साम्पाङले सामाजिक संजाल फेसबुकबाटै प्राधिकरणलाई चुनौती दिएका छन् । उनले प्राधिकरणले रोकेपनि धरानमा विमानस्थल बनाएरै छोड्ने अराजक अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु...'