काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ मागदावी गर्दै मुद्दा दायर गरेको हो ।
पौडेलको बैध आय १ करोड १९ लाख २४ हजार ८ सय ४६ देखिएको र उनले गरेको खर्च तथा लागानी २४ करोड ९४ लाख ७१ हजार १ सय ७१ रुपैँया देखिएकाले उनको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरुमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीहरुसँग मोलमोलाई गरी ती कम्पनीहरुसँग गैरकानूनी कमिशन लिई विदेशी बैङ्कमा गैरकानूनी रुपमा बैङ्क खाता खोली रकम जम्मा गर्ने र त्यस्तो गैरकानूनी रकम स्वदेशमा र विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गर्ने, आफ्नो हैसियतभन्दा बढी खर्च गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गर्ने गरेकोसमेत प्रमाणित हुन आएको छ ।
पौडेललाई विशेष अदालतले शुक्रबार मात्रै पेमेन्ट गेटवेको मुद्दामा दोषी ठहर गरेको थियो । सो मुद्दामा कसुर निर्धारणको लागि बैशाख २५ गतेका लागि पेशी तोकिएको छ ।