काठमाडौँ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभि हेर्दा सुनारले चाेरी गरेकाे देखिएकाे थियाे ।
निजको शरीर र लकर खोजी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुनारलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालाकाे थुनामा राखिएकाे छ ।
माघ १८, २०८० ०६:५७ मा प्रकाशित