१६ असाेज, काठमाडाैँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदको दुरुपयोग गर्दैै अपराधीहरुको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले आफूहरुले एसिड आक्रमणमा उत्रिनेहरुलाई कारबाही गर्नका लागि कडा कानून ल्याए पनि त्यस कानुनको धज्जी उडाउँदै सरकारले एसिड आक्रमण गर्नेलाई माफि दिएको बताए ।
‘खासगरी हाम्रा छोरीहरुको सुरक्षाका लागि एसिड आक्रमणका विरुद्ध मैले संसद नभएका बेला अध्यादेशबाट कानुन ल्याउनुपर्यो । त्यसको सुरक्षाका लागि कडा कारबाहीको प्रावधान गरियो । तर त्यो कडा कारवाही आज ४ वर्ष नभईकन मुस्कान खातुनमाथि आक्रमण गर्नेलाई उनको घाउ निको नहुँदै, अस्पतालमा उपचार भइरहँदा सरकारले छोडिसक्यो ।’ उनले भने, ‘अहिले उनी रोएर हिँडेकी छिन् । सरकारले उनको उपचार गर्न सकेको छैन । पीडितलाई उपचार गर्न नसक्ने, उनलाई अन्य व्यवस्था गर्न नसक्ने तर हिंसा र त्यसता घटनालाई प्रोत्साहित गर्नेगरि माफी दिइयो । ’
आक्रमणकारीलाई कारबाही गर्न आफूहरुले बनाएको कानूनकाे सरकारले महत्व नबुझेको बताएका छन् ।
उनले न्यायको सरकारले धज्जी उडाएको भन्दै सरकारलाई नै प्रश्न गरेका छन् । ‘यस देशमा कुनै न्याय हुँदैन ? न्याय भनेको की यहि हो ? अपराधीका लागि यति कारबाही भनेर कानुनमा किन तोक्नुपर्यो यदि सरकार आफैँले एउटा नियम बनाउँछ भने ?’ उनले भने ।
त्यस्तै उनले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी मिनाहा गरेको भन्दै आपत्ति जनाए ।
‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, उनले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’
त्यसो त आफ्नो श्रीमानको हत्यारालाई राष्ट्रपतिले आमामाफी दिएपछि न्यायको खोजीमा नेपालगञ्जकी भारती मानन्धर यतिबेला काठमाडौँमा छिन् ।