गाजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको लडाकु समूह हमासले बन्धक बनाएका १७ जनालाई छोडेको छ ।
इसराइली डिफेन्स फोर्सका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो । बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ ।
युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो ।
योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इसराइलको जेलबाट मुक्त भएका छन् ।
इसराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो ।
हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धक मुक्त गर्ने र त्यसवापत इसराइलले गाजामा थप एकदिन युद्धविराम लम्ब्याउने भनिएको छ ।
अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गरी नेपालका विपिन जोशीसहित २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गाजा लगेको थियो ।
हमासको आक्रमणमा इसराइलमा १० नेपाली नागरिकसहित १ हजार २ सय जना मारिएको थिए। त्यसयता हमासलाई निशाना बनाउँदै इसराइलले लगातार गजामा आक्रमण गर्दै आइरहेको थियो।
इसराइलको आक्रमणबाट गजामा १३ हजारभन्दा बढी नागरिकहरूको मृत्यु भइसकेको छ ।