चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका छन् ।
सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।”