काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रमेश खरेलले नियोजित रुपमा आफूमाथि दुष्प्रचार गरेको आरोप लगाएका छन् ।
बुधबार एक प्रेस वक्तव्य जारी गर्दै घिसिङले नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले दूषित मनसायका साथ आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको उल्लेख गरेका छन् ।
खरेलले आफूले घिसिङ विरुद्ध अख्तियारमा भष्ट्राचार गरेको उजुरी दिएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । त्यसैमा आपत्ति जनाउँदै घिसिङले उनको उजुरीलाई सार्वजनिक खपत र आफू चर्चामा आउनका लागि गरिएको हर्कत भनिदिएका हुन् ।
‘आफ्नाविरुद्ध नियोजितरूपमा दूषित मनसायका साथ सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गरेको र सोही आधारमा विभिन्न सञ्चार माध्यममा समाचार आएकोमा मलाई दुःख लागेको छ,’ घिसिङले भनेका छन् ।
सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासो र निगरानीमा हुने भएकाले आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक राख्ने भए पनि उजुरी दर्ता गर्नासाथ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर खरेलले चर्चामा आउन खोजेको घिसिङद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
निष्ठा साथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको आफूलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निहित स्वार्थका साथ यस्ता कामहरू भइरहेको पनि घिसिङले बताएका छन् ।
‘प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएका केही स्वार्थ समूह पहिलेबाटै सक्रिय रहेको र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएकाहरू अहिले आफूलाई थप कमजोर बनाउन र मनोबल गिराउन सुनियोजित रूपमा लागेको पाइएको छ,’ घिसिङले भनेका छन् ।
गुणस्तरीय विद्युतिकरणमा आफूले निष्ठापूर्वक काम गरेको भन्दै सिघिङले आफ्ना विरुद्ध लगाइएको आरोपको स्वतन्त्र छानबिन गर्न पनि आग्रह गरेका छन् ।