कास्की । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति देवर कुलबहादुरलाई भनेकी थिइन्,‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’
सासुआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर सुत्न देवरको घर गएका थिइन् । साँझ छोरीज्वाईँ आएकाले राधिका पनि घरसँगै जोडिएको देवरको घर गइन् ।
सासुआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बसेकी थिइन् । अन्य सबै जना घरमा एउटै कोठामा थिए । राति १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन । उनी र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै थिए। भूकम्प जस्तो भयो । दुवैजना डरले कोठाबाट बाहिर निस्किए ।
राधिका डरले पल्लोघरतिर भागिन् । श्रीमान् सूवर्ण भाईको परिवारलाई बचाउँछु भनेर जाँदा टिनले छाएको ढुङ्गा माटोले बनेको एकतले घर पहिराले पुरिसकेकेको थियो ।
पहिरोले कुलबहादुर सहित आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना, २० वर्षीया छोरी प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियारलाई एकै ठाउँमा पुरेको थियो । पहिरोमा परेर उद्धारका लागि पुगेकी छिमेकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुलबहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल भए । पवनलाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । घरमाथि अघिल्लो दिननै सानो पहिरो खसेको थियो । जमिन धेरै भिरालो नभएकाले थप पहिरो नजाला भन्ने अनुमान गरेपनि पानी निरन्तर परिरहेकाले त्रासले रातभर नसुत्ने योजनामा दुवै परिवार थिए ।
“अस्ति सानो पहिरो खसेको थियो । अब तल आउँदैन होला भन्ने भयो । आयो भने भाग्ने भनेर बसेका पनि थियौँ ।” राधिकाले भनिन् । उनका अनुसार कुलबहादुरका ज्वाईँ र कान्छी छोरी राति छाता ओढेर घर माथितिर हेर्न गएका थिए । माथि सामान्य रहेकाले चिन्ता नगर्न ज्वाईले भनेपछि उनी आफ्नो घर फर्किएकी थिइन् । “माथि हेरेर आएपछि ज्वाइँले भगवानले हाम्रो रक्षा गर्नुहुन्छ । पहिरो आउदैन भन्नुभयो । तर मैले लापरबाही गर्नुहुँदैन, आज सुत्नु हुँदैन भनेर हिँडेको केही समयमै गुर्र घरमाथि पहिरो खस्यो ।” उनले भनिन् । कुलबहादुरलाई पहिरोको त्रास भएपनि घरमा पाहुना आएकाले घर छाड्न नमिलेको उनले बताइन् ।
पहिराले राधिकाको घरको एक कोठामा पनि क्षति पुगेको छ । अर्को कोठामा बसेकाले उनी पहिरोबाट जोगिएकी हुन् । गएराति आफू अर्को कोठामा गएर बसेकाले बाँच्न सफल भएको राधिकाले बताइन् । पहिरोबाट आफू जोगिए पनि देवरको पूरै परिवार सखाप भएकाले उनी विक्षिप्त छिन् । “जापान भएकी छोरीले अब कसरी आफूलाई सम्हाल्ली । कसरी खबर गर्नु, कस्तो दिन भोग्नु पर्योँ ।”राधिकाले आँखाबाट आँसु झार्दै भनिन् ।
स्थानीयका अनुसार कुलबहादुरलाई पहिरोको जोखिम रहेकाले घरमा नबस्न सल्लाह दिइएको थियो । छिमेकीहरुले वैकिल्पक व्यवस्था गर्न भनेका थिए । अर्को विकल्प नभएकाले कुलबहादुरको परिवारले घर छोडेन । पहिरोको त्रासमा उनको परिवार बसेको थियो ।
पोखरा–१९ का वडासदस्य विकास आचार्यले बिहीबार साँझतिर कुलबहादुरलाई खाना घरमै खाएपनि बास नबस्न आग्रह गरेको बताए । उनले भने,“पानी परिरहेको छ, पहिरोको जोखिम छ, आजलाई खाना पकाएर खाएपनि रात नबस्नु, हामी अर्को व्यवस्था गछौँ भनेर निस्केको थिएँ । त्यसै गर्नुपर्ला भन्नुभएको पनि थियो । राति ठूलो आवाज सुनेँर बाहिर निस्कँदा अरुलाई पहिराले पुरिसकेको रहेछ । छोरालाई मात्र जोगाउन सफल भयौँ ।”