काठमाडौं । सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विरोध गरेको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै माओवादीका सांसदहरुले उपसभामुखलाई पदबाट हटाउन लागिएको समाचारमा देखिएको भन्दै वास्तवमै हटाउन खोजिएको भए माओवादीले प्रतिवाद गर्ने जनाएका हुन् ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने जनाउँदै उनले भने , ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु।
त्यस्तै माओवादीका सांसद हितबहादुर तामाङले पनि उपसभामुखलाई हटाउने कुरा माओवादीलाई स्वीकार्य नहुने बताए । उनले भने, उपसभामुखलाई महाअभियोग लगाउने कुरा चर्चामा आएको छ। यो हामीलाई स्वीकार्य छैन। यो गलत कमद नचाल्न सरकारलाई आग्रह गर्छु।
माओवादीकै सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न चुनौती दिए ।
यस्तै सांसद देवेन्द्र पौडेलले पनि उपसभामुखको पक्षमा बचाउ गरे । उपसभामुखलाई नैतिकताको प्रश्न उठाएर अपमान गर्न खोजेका भन्दै पौडेलले भने,'यो भन्दा पहिला गएकाहरुले के के गर्नुभएको छ त्यसको पनि हिसाबकिताब लिएर अघि बढ्नु पर्छ'।
उपसभामुखको पक्षमा माओवादीले सरकारको प्रतिरोध गर्ने बताउँदै पौडेलले भने,' सत्तामा त हामी सबै छौँ यो धेरै समयमा, अनि उपसभामुखलाई नैतिकताको प्रश्न उठाएर अपमान गर्न खोज्ने ?', म उपसभामुखलाई भन्न चाहन्छुु, हामी छौ तपाईको साथमा, हामी प्रतिवाद गर्छौ ' एउटा जिम्मेवारी पुर्वक केहि भुमीका निर्वाह गर्छु भनेर आएको नारीलाई अपमान गर्ने कुरा नगर्न अनुरोध गर्छु।