काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा १० हजार मानिस उतार्ने तयारी गरेको छ । पार्टी सभापतिविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको रास्वपाले बालुवाटारमा १० हजार मानिस उतार्ने तयारी गरेको हो ।
१२ बजे बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी गरेको रास्वपाले काठमाडौँका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरेको छ । पार्टीले भक्तपुरबाट आउनेहरुलाई कोटेश्वरमा जम्मा गरेर र्याली निकाल्ने, पश्चिमतर्फ कलंकीबाट, बौद्ध, जोरपाटी, कपन लगायतका क्षेत्रबाट चावहिलमा जम्मा गर्ने बताएको छ । त्यस्तै ललितपुर, नयाँ बसपार्क क्षेत्र, महाराजगञ्ज क्षेत्रबाट पनि र्याली निकाल्ने तयारी रहेको पार्टी पार्टी केन्द्रिय सदस्य तथा आजको आन्दोलनका संयोजक पुकार बमले जानकारी दिए । यी सबै स्थानबाट र्याली निकाल्ने तयारी पुरा भएको उनले बताए ।
आजको प्रदर्शनमा पार्टीका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने पनि उनले बताए ।