काठमाडाैँ । नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ ।टिकटकको कम्पनीले नेपाल सरकार मातहतको सूचना तथा सञ्चार मन्त्रालयबाट मङ्गलवार नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार टिकटकले केही पहिलेदेखि नै टिकटकको दर्ताका लागि प्रक्रिया अगाडि बढाएको भएपनि मंगलबारदेखि आधिकारिक रुपमा दर्ता भएको हो ।
टिकटकले सामाजिक सद्भाव खल्बलाएको बताउँदै केही समय पहिले नेपाल सरकारले टिकटकलाई नेपालबाट प्रतिबन्ध लगाएको थियो । तर टिकटकले आफू नेपाल सरकारको कानुनको अधिनमा रहेर सञ्चालन गर्न तयार भएको पटकपटक बताउँदै आएपछि नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसपछि दर्ता प्रक्रिया सुरु गरेको टिकटकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरेको हो ।
यससँगै टिकटकले साइबर अपराधको अनुसन्धानमा सघाउने, नेपालको कानून तथा सर्त मान्न तयार हुँदै पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।