इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्ध जन्मकैदको फैसला भएको छ । आलमविरुद्धको मुद्दाको फैसला गर्दै जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बम समेतकाे प्रयाेग गरी ज्यान मार्ने उद्याेग तथा कर्तव्य ज्यान सम्बन्धी कसुर ठहर गर्दै उनलाई जन्मकैदको फैसला सुनाएका हुन् ।
वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनको समयमा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेका उनीविरुद्ध फैसला भएको हो ।
२०७६ कात्तिक १८ मा उनीविरुद्ध ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।