काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले ९ वटा राजमार्गहरू अवरूद्ध भएका छन् भने ५ वटा एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार कोशी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका ३ उत्तर दक्षिण कोशी राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरूद्ध बनेको छ । यो सडकखण्ड असार ६ गतेदेखि नै अवरूद्ध रहेको र बर्खाभर नखुल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कोशी प्रदेशकै सुनसरीको बराहक्षेत्र नगरपालिका १ धनसारेस्थित चतरा बराह क्षेत्र भित्री सडकखण्डमा पनि पहिरो खस्दा पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ ।
यस्तै मधेस प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थानमा बाढी आउँदा पूर्व(पश्चिम लोकमार्ग एकतर्फी सञ्चालनमा छ ।
यस्तै बागमती प्रदेशमा पाँच स्थानमा सडकमा क्षति पुगेको छ। जस मध्ये दोलखाको कालिन्चोक गाउँपालिका ४ झामार्सीस्थित चरिकोट सडकखण्ड साउन १३ गतेदेखिनै बाढीका अवरूद्ध छ।
त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका ८ कालोपहिरो र सोही वडाको महादेवटारमा पहिरो खसेपछि कान्तिलोकपथ सडकखण्ड एकतर्फीमात्रै सञ्चालनमा छ।
यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालका ८ जुरेमा बाढीका कारण अरनिको राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ भने मेलम्ची नगरपालिका ११ धितालबेशीमा बाढीका कारण मेलम्ची जिरो किलो सडक पनि एकतर्फी सञ्चालनमा छ।
त्यस्तै गण्डकी प्रदेशमा बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरो खसेपछि बेनी दरवाङ सडकखण्ड पूर्ण रूपमा अवरूद्ध छ।
रघुगंगा गाउँपालिका १ र २ मा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ।
बागलुङ नगरपालिका १० डब्लाङमा पहिरो जाँदा कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ।
त्यसैगरी लुम्बिनी प्रदेशमा प्युठानको नौबहिनी गाउँपालिका १ हाम्पालमा स्याउलीबाबाग्दुला सडकखण्ड र दाङको घोराही उपमहानगरपालिका १६ सेवार खोलामा बाढीका कारण घोराही तुलसीपुर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
कर्णाली प्रदेशको रूकुम पश्चिमको आठबिसकोट नगरपालिका(११ खरखरेस्थित भेरी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ।