काठमाडौँ । संविधान दिवस दिन काठमाडौँको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाले परेड प्रस्तुत गरेको छ । त्यस्तै नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएकाे छ । संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थहरु सहभागी छन् ।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।
संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुनेछ । यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् । सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।