काठमाडौँ । इरानले नेपाली समयअनुसार मध्यरातको बिहान १ बजे इजरायल विरुद्ध भीषण युद्ध सुरु गरेको छ । इरानले सच्चा प्रतिज्ञा (ट्रू प्रमिस) नाम दिएको आक्रमण सुरु गरेसँगै त्यहाँ युद्धको त्रास पैदा भएको छ ।
इजरायलमाथि एक सय बढी ड्रोन र मिसाइल प्रहार गरिएको इरानको दाबी छ । आक्रमणका कारण हालसम्म एक बालिका घाइते भएको बाहेक अन्य घटना सार्वजनिक भएको छैन् ।
इजरायलले इरानी आक्रमणको प्रतिरक्षा गरिरहेको जनाएको छ । दुई शक्तिशाली मुलुकबीच सुरु भएको युद्धबीच त्यहाँ रहेका नेपालीहरूमाथिको चिन्ता बढेको छ ।
नेपालस्थित इजरायली दूतावासका अनुसार इजरायलमा ५ हजार नेपालीहरू केयर गिभर पेशामा कार्यरत छन् । इजरायलमाथि इरानले आक्रमण सुरु गरेको नेपालस्थित इजरायली दूतावासले पुष्टी गरेको छ।
सिधाकुरासँग कुरा गर्दै नेपालका लागि इजरायलका राजदूत हनान् गोदरले आक्रमण भएको बताए । इजरायलले आक्रमण विरुद्ध कडा प्रतिकार गरिरहेको पनि बताए । उनका अनुसार इजरायलमा ४ हजार ५ सय देखि ५ हजार नेपालीहरू रोजगारीमा छन् ।
‘हाम्रो विवरणअनुसार इजरायलमा ४५ सय देखि ५ हजार नेपालीहरू रोजगारीमा छन्’ राजदूत गोदरले भने ।