नेसनल पेमेन्ट गेटवे (एनपीजी) भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतले पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा फैसला गर्दै ९ मध्ये १ जनालाई दोषी र अन्यलाई सफाई दिएको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले अकुत सम्पत्तिसम्बन्धी मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका पौडेललाई पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर गरेको हो । अकुत सम्पत्ति आर्जनको आरोपमा पौडेल गत १० माघमा पक्राउ परेका थिए । सो प्रकरणमा दोषी ठहर भएका पौडेलको सजाय भने तोकिएको छैन । उनीमाथि आगामी बैशाख २५ गतेको पेशीमा सजाय तोकिने बताइएकाे छ ।
त्यस्तै अख्तियारले मुद्दा दायर गरेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ लगायत रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीले सफाई पाएकाे विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । ।