इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्न आउनेको फोटो खिचेर पठाउन मतदातालाई आग्रह गरेका छन् । शनिबार इलामको फाकफोकथुममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभामा बोल्दै लामिछानेले चुनावका बेला पैसा बाँड्नेलाई कडा कारबाही गरिने बताएका हुन् ।
उनले भने ‘अन्तिम समय, मौन अवधि पनि आउँदै छ। कसैले पैसा दिन खोज्यो भने साइटबाट यसो फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला। २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ’, उनले भने, ‘नागरिकलाई सचेत गराउन चोकचोक गौँडागौँडामा खटिनुहोला। पैसाका पोको बोकेर गाउँ छिर्नेहरूलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाउने केके गर्नुपर्छ, कतिवटा गाडी चाहिन्छ गृह मन्त्रालयमा भन्नुहोला, देशको भविष्य पैसामा किन्न खोज्नेहरूलाई निर्मम कारबाही हुन्छ।’
यस्तै लामिछानेले मतदात लाई सर्तसहित घण्टीमा मतदान गर्न आग्रह गरे । मतदाताले राख्ने जनपक्षीय जुनसुकै सर्त पार्टी र उम्मेदवारले स्वीकार गर्ने भन्दै जनपक्षीय हरेक सर्तमा ल्याप्चे लगाउन रास्वपा तयार भएकाले मतदाता पनि परिवर्तनका लागि तयार हुनु पर्ने बताए ।
यस्तै उनले मत परिवर्तन गर्न आग्रह गरे । उनले भने 'पुराना दलमा आवद्ध हुनुहुन्छ, ती दलमा केही योगदान पनि गर्नु भएको होला, माया लाग्ला। तिनलाई माया गरिराख्नुस्। भोट चाहिँ घण्टीमा दिनुस्। घण्टीमा भोट दिन रास्वपा भइरहनु पर्दैन। इलामको अवस्था परिवर्तन गर्ने हो भने मत पनि परिवर्तन गर्नुस्'।
साथै आफ्ना उमेद्वारले जितेर जनचाहाना अनुसार काम नगरे २०८४ सालमा घण्टीलाई गाउँ नै छिर्न नदिन आग्रह गरे ।
लामिछानेले उपप्रधान एवं गृहमन्त्रीका रुपमा मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत निर्देशन दिदै लामिछानेले मत प्रभावित पार्न पैसाको पोको लिएर कोही आउनेहरुलई पोकै पारेर कानूनको जिम्मा लगाइदिन आग्रह समेत गरे ।