
हेटौँडा । बागमती प्रदेश क्षेत्रका ठूला बजारहरूमा गुणस्तर नियमन नभएका हानिकारक खाने तेलहरू बिक्री वितरण हुने गरेको पाइएको छ । तेलको बजार गुणस्तर नियमन गर्ने नियमनकारी निकायले गुणस्तर जाँचमा बेवास्ता गरेपछि उपभोक्ता गुणस्तर मापन नभएको तेल उपभोग गर्न बाध्य छन् ।
सिधाकुरालाई प्राप्त विवरणअनुसार आधा दर्जन बढी खाने तेल उद्योगहरू नियमन बेगर नै तेल उत्पादन गरेर बजारमा बिक्री गरिरहेका छन् । अवस्था कतिसम्म छ भने तेस्रो मुलुकबाट ट्यांकरमा आयात भएको तेल सिधै प्याकेटमा भरेर गुणस्तर परीक्षण बिनै बजारमा पठाइएको पाइएको छ । तेल उद्योगका कर्मचारीहरुका अनुसार सूर्यमुखी, तोरी, सोयाबिनका तेलहरू यसरी खुलेआम बिक्री हुने गरेको छ ।
सिधाकुरालाई प्राप्त विवरणअनुसार चितवनको भरतपुरमा रहेको सालासार बालाजी आयल उद्योग, स्वर्णिम प्याकेजिङ उद्योग, ओमकार आयल एण्ड एग्रो प्याकेजिङ इन्डष्ट्रिज, पञ्चकन्या तेल उद्योग र भवानी एग्रो रिफाइन प्रोसेसिङ एण्ड प्याकेजिङले उत्पादन गर्ने उद्योगको उत्पादनमा गुणस्तर जाँच भएको पाइँदैन ।
सरकारले नीति अनुसार आयातित कच्च तेल प्रशोधन गरेर गुणस्तर प्रमाणिकरण नगरी बिक्री गर्न पाइँदैन । औद्योगिक प्रवर्द्धन बोर्डको २०६४ सालको १८१ औं बैठकको निर्देशन अनुसार प्रोसेसिङ, ब्लिचिङ गरी किटाणुरहीत बनाएर मात्रै तेल प्याकेजिङ तथा उत्पादन गर्नुपर्छ । त्यसो त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मातहतका कार्यालय तथा डिभिजन कार्यालयहरूलाई यसबारे पत्राचार पनि गरेको छ ।
गत जेठ ६ गते हेटौंडाको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य अनुसन्धान अधिकृत अमृता राईको हस्ताक्षर सहितको यस्तो निर्देशनयुक्त पत्र तेल उद्योगहरूलाई गएको थियो । सो पत्रमा आयातीत तेल प्रोसेसिङ र ब्लिचिङ गरी किटाणुरहीत बनाएर मात्रै प्याकेजिङ र उत्पादन गर्न भनिएको थियो । तर, यसको कार्यन्वयन अवस्थाबारे अनुगमन नहुँदा तेल उद्योगहरूको मनोमानी चलिरहेको छ ।
सिधाकुराले खाद्य प्रविधि कार्यालय हेटौंडाले ९ महिना अघि पत्र काटेका केही तेल उद्योगहरूबाट उत्पादित सूर्यमुखी तेल खरीद गरेर गुणस्तर जाँचका लागि कार्यालयलाई अनुरोध गरेको थियो । उक्त तेलको नमूना हेरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले अनुगमन गर्ने जनाएको छ ।
कार्यालयका सूचना अधिकारी दिनेश सुवेदीले अब अनुगमनलाई तिव्रता दिने बताए । ‘गुणस्तर प्रमाणिकरण नभएको र नवीकरण नभएका उद्योगले तेल बिक्री गर्न पाउँदैनन्,’ सूचना अधिकारी सुवेदीले भने । तर, उपभोक्ता अधिकार क्षेत्रमा काम गर्नेहरूले भने गुणस्तर जाँच गर्ने सरकारी संयन्त्रको पारदर्शी भूमिकामा प्रश्न उठाएका छन् । उद्योगीहरुसँगको साँठगाठमा उपभोक्ता हित विपरितको काम विभागबाट हुन सक्ने भन्दै उनीहरुले खबरदारी अपरिहार्य रहेको पनि बताएका छन् ।
गुणस्तर परिक्षण नभएको तेल बिक्रीबारे भने उद्योगीहरुले आपत्ति जनाएका छन् । उनीहरुले आफूहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वयमा रहेको र कम्पनीको नविकरणकोे कार्य प्रक्रियामा रहेको दाबी गरे । सिधाकुराको सम्पर्कमा आएका ओमकार आयल र शालासार तेल उद्योगका सञ्चालकहरुले आफूहरुले गुणस्तर जाँज पुष्टी भएको र गुणस्तरीय तेल मात्रै बिक्री गरेको दाबी गरे ।
‘सानो आधारमा हामीले उद्योग चलाएको हो । हाम्रो उद्योग प्याकेजिङ उद्योग हो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नेगरी काम गरेको छैन्’ सालासार बालाजी उद्योगका सञ्चालक दुर्गा प्रसाद काफ्लेले सिधाकुरासँग भने,‘हामी खाद्य प्रविधिको चितवन र हेटौडा कार्यालयमा नियमित सम्पर्क छ । नियमगत प्रक्रियामा छौँ । उपभोक्ताको दैनिक उपभोगको तेल जस्तो विषयको गुणस्तरमा कुनै खेलबाड नभएको पनि उनीहरुको दाबी छ ।