कैलाली । धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ वटा पसलमा क्षति भएको छ ।
प्रहरीका अनुसार शुक्रबार राती १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत सर्ट भई आगलागी भएको हो । भण्डारी पसलसंगै जोडिएका अन्य ७ पसलमा पनि आगलागी भएको छ। आगलागीबाट सारथी अस्पतालमा पनि क्षति भएको छ ।
त्यस्तै मधुमाला देवी सप, सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदिक्षा इन्टरप्राईजेज र भण्डारी सु –सेन्टर ट्रेडर्स एण्ड सप्लायर्समा पनि आगालागीबाट क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन धनगढी–उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले जानकारी दिए ।