पश्चिम नवलपरासी : समुदायमा काँग्रेस अभियान अन्तर्गत संवाद यात्राका क्रममा नवलपरासी पश्चिम पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावअघि गरिएको गठबन्धनले जनतामा निराशा छाएको बताएका छन । उनले यहि अवस्था रहिरहे जनताको उत्साह झन मर्दै जाने बताए ।
महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचन जितेको ठाँऊ होस या हारेको ठाँऊ सबै ठाँऊका नेता, कार्यकर्ता तथा जनतामा व्यापक निराशा छाएको बताए । उनले पार्टीले नीति नै बनाएर सच्चिनुपर्नेमा कुनै विकल्प नभएको बताए।
त्यस्तै उनले यात्राका क्रममा आफूले फरक फरक भेगमा फरक फरक समस्या देखेको बताए । उनले कतै मिटरव्याजी, सहकारीका समस्या त कतै हात्ती तथा निलगाँईका समस्या टट्कारो रहेको बताए । जनताको जीवनस्तर उकास्न राज्यले गरेका लगानीमा समयमै आयोजना सम्पन्न नहुदाँ जनता थप पिडामा परेको बताएका छन् ।
लामो समयदेखि निर्माणाधिन रहेको हुलाकी राजमार्गले किसानको आयस्तरमा वृद्धि हुने सोचिएपनि त्यसमा राज्यको ध्यान पुग्न नसक्दा किसानले कुनै प्रतिफल प्राप्त गर्न नसकेको आरोप लगाएका छन् । ‘विभिन्न अलपत्र आयोजनाका विषयमा संघीय अर्थात काठमाडौँको सरकारको ध्यान पुगेको छैन । फलत आयोजनाले जनता निराश भएका छन ।’, उनले भने ।
त्यस्तै उनले नेपालको कृषिमा क्रान्ति ल्याउने हो भने अबको तीन वर्ष सिँचाइ लगायतका पूर्वाधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले अनुत्पादक क्षेत्रमा गरिएको ठुलो मात्राको लगानी कटौती गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
थापाले काँग्रेस नेता तथा पूर्व मन्त्री केशव बहादुर बुढाथोकीको निधनले गर्दा संवाद यात्रा तत्कालका लागि टुंग्याएका छन् । उनले फागुनको दोश्रो साताबाट संवाद यात्रा पुनः नवलपरासीबाटै सुरु गर्ने जानकारी दिएका छन्।