राँझा । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगञ्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै हिड्छन् ।
गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुख्र्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जो टार्ने गरेको बताए ।
काँधमा कालो झोला, गलामा सारङ्गी भिरेर नेपालगञ्जका विभिन्न गाउँ घुम्ने डम्बरले सारङ्गी रेटेर गीत गाउँदै दैनिक पाँच सयदेखि सात सयसम्म आम्दानी गर्छन् । नेपालगञ्जमा मात्र नभई कोहलपुर, खजुरा, सुर्खेतको वीरेन्द्रनगर, छिन्चु, बर्दियाको गुलरिया, भुरीगाउँ, बाँसगढी, दाङको लमही, घोराही र तुलसीपुरमा समेत पुग्ने गरेका छन् ।
बाह्र वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै आएका डम्बर परिवारको हातमुख जोड्नका लागि सारङ्गी रेट्दै नेपालगञ्ज छिरेका थिए । उनले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि आग्रह गर्छन् ।
“सहरमा हाम्रो गीत कसैले सुन्छन्, कसैले वास्तै गर्दैनन् । जसोतसो घरखर्च सङ्कलन हुँदै आएको छ”, डम्बरले भने, “मागेर खान नभई आफ्नो संस्कृति र पेसालाई जोगाउन सारङ्गी रेट्दै विरहका गीत गाउने गरेको छु । यो पेसाबाट मलाई गर्व महसुस हुने गर्दछ ।”
बीचमा केही वर्ष रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेको बताउँदै उनले पछिल्लो सात वर्षदेखि निरन्तर सहर बजारमा एक्लै सारङ्गी रेटीरहेका छन् ।
सहरमा सारङ्गी रेटेर विरहका भाकासँगै डम्बरले विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउँदै आएका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–४ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्दै आउनुभएका डम्बरले बदलिँदो समयसँगै नयाँ पुस्ताले पुख्र्यौली पेसाबाट जीविकोपार्जन सम्भव नदेखेपछि अन्य पेसामा लागेको बताए ।
समसामयिक अवस्थालाई सरल शब्दमा सर्वसाधारणले बुझ्ने गरी गीतको माध्यमबाट व्यक्त गर्ने पुख्र्यौली पेसा अहिले विस्थापित हुँदै गएकामा डम्बरले चिन्ता व्यक्त गरे । कुनै दिन बम्बईका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज देखिन छाडेका बताउँछन् ।
रेडियो, पत्रपत्रिका, टेलिभिजन, मोबाइलफोनलगायत अत्याधुनिक सूचना प्रविधिको विकासले आफुहरुले पुख्र्यौली पेसा परिवर्तन गर्न बाध्य भएको डम्बरले गुनासो गरे । नेपाली मौलिक लोक संस्कृति र पुख्र्यौली पेसा संरक्षण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।