काठमाडौं । सगरमाथामा गत आरोहण सिजनका बेला डोरी काटेका भिडियो सार्वजनिक गरी सगरमाथाका प्रतिष्ठामा आँच पुर्याएको भन्दै सरकारको छानबिनमा परेको प्रख्यात आरोहि निर्मल पुर्जा(निम्सदाइ)लाई पर्यटन विभागले सचेत सहित सफाई दिएको छ । पुर्जाले अज्ञात समुहले सगरमाथा चढ्न प्रयोग हुने डोरी काटिदिएको भन्दै भिडियो सार्वजनिक गरेका थिए । गत मे महिनामा सगरमाथा आरोहणको क्रममा क्याम्प ४ र बाल्कोनीको बीचमा डोरी चुडिएको पुर्जाले भिडियो देखाएका थिए ।
भिडियोमा डोरी चुँडीएको देखिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि सगरमाथाबारे भ्रम फैलाएको भन्दै पर्यटन विभागले छानबिन सुरु गरेको थियो । विभागले छानबिनपछि पुर्जामा सगरमाथा माथि भ्रम फैलाउने उदेश्य तथा खराब मनसाय नदेखिएको भन्दै सफाई दिएको हो ।
पुर्जाले यस विषयमा सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । सरकारलाई धन्यवाद भन्दै पुर्जाले समग्र पर्वतारोहण समुदायको सुरक्षामा सरकारी पारदर्शिता र प्रतिबद्धाप्रति आधार व्यक्त गरेका छन् । पुर्जाले लेखेका छन्,नेपाल सरकारको सत्यको पक्षमा दृढ प्रतिबद्धता र हाम्रो पर्वतीय समुदायको सुरक्षाका लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । सगरमाथामा डोरी काटिएको घटनाको सन्दर्भमा मैले र मेरा साथी आरोहीहरूले सुरक्षित र पारदर्शी पर्वतारोहण सुनिश्चित गर्न गरेको प्रयासलाई सरकारले साथ दिएको छ । मलाई यो घटनाको छानबिन पश्चात औपचारिक पत्र प्रदान गरिएको छ । म सत्यको समर्थन गर्ने सबै पर्वतारोही साथीहरूलाई नमन गर्दछु, विशेष गरी दुई पटक १४ शिखर आरोहण गरेका सानु शेर्पाजस्ता प्रमुख आरोहीहरूप्रति पनि अत्यन्तै आभारी छु ।’