सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलको अवस्थामा पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताएका छन् ।
शुक्रबार सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको अर्को भूमिकामा जाने भन्दै तत्काल नै पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताएका हुन् । आफुलाई सँधै पार्टीको नेतृत्व गरिरहने रुचि नरहेको र अध्यक्ष भन्ने पद आफ्ना लागि त्यति ठुलो पनि नभएको उनको भनाइ छ । उनले माओवादीलाई कमजोर पार्न पार्टी फुट्को हल्ला चलाइएको भन्दै पार्टी फुट्ने भन्ने चर्चा गलत सावित भएको धारणा राखे ।
त्यस्तै प्रचण्डले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताए। उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको र आफुले पनि सदनबाट प्रष्ट पार्ने काम मात्रै गरेको बताए ।
सरकार पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उल्लेख गर्दै उनले गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए ।
सदनमा हिंसा सम्बन्धी विवादका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रचण्डले विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी अवमूल्यन नगर्न सचेत गराए । अहिले जनयुक्त शव्दको विरोध गर्नेहरुले नै कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई राम्रैसँग प्रसंशा गरेको उनले बताए ।