काठमाडाैँ । सिन्धुलीको गोलञ्जरमा जीप दुर्घटना भएको छ । खोटाङबाट काठमाडौँ आइरहेको ४ जना सवार जीप गोलञ्जर गाउँपालिका १ कुडुलेबाट सुनकोशी नदीमा खसेको हो । जीप सुनकोशी नदीमा खसेको र एक जना यात्रु बाँचेर शकुसल सडकमा आएको वडा अध्यक्ष सोमप्रसाद बरालले पुष्टी गरे । जीपमा सवार अनय ३ जना बेपत्ता छन् ।
दुर्घटनामा परेर सकुसल निस्केका एक युवाले फोनमा कुरा गर्दै गरेको भिडियो सार्वजनिक भएको छ । उनले उक्त फोन कलमा आफु मात्र बाहिर निस्केको अरु कोही बाहिर नआएको बताएका छन् । यस्तो छ उनले फोनमा बताएको एकतर्फी कुरा ।
हेलो...
अ...
ह्याँ बाटोमा, गाडी दुर्घटना भयो...
थाहा छैन म मात्र निस्के । कसरी निस्केँ थाहा छैन । केही निस्केन । कोही निस्केन ...
मान्छेहरु आइसक्यो । प्रहरीलाई फोन गरेको छ । अन्सुलाई, बालकृष्ण अंकलाई फोन गर्देउ ...
वडाध्यक्ष बरालका अनुसार ति युवाले आफ्नो नाम सुशान्त बताएका छन् । शकुसल रहेका यात्रुले आफ्नो घर भक्तपुर बताएको र उनीहरु सोलोखुम्बु, घुमेर फर्किदै गर्दा दुर्घटनामा परेको वडा अध्यक्ष बरालले जानकारी दिए । दुर्घटनामा परेकाहरु हलेसी दर्शन गरेर फर्केको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए ।
नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।
गाडीमा चारजना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजीकार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।