काठमडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी छानविन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै दोषीले उन्मुक्ति नपाउने बताएका छन् । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रतिवेदनको कार्यान्वयन अघि नै कसैले क्लीन चिट पाएको दावी नगर्न सुझाव समेत दिए । शर्माले सहकारी प्रकरणमा नाम आउने वितिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानबिन गर्न आग्रह गरेको स्मरण गर्दै राज्यले गर्ने छानबिनमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
‘सीआईबीले छानबिन गरिरहेको छ । निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ’, शर्माले भने ।
उनले निर्वाचनमा पपुलर भोट ल्याउनेलाई पाँच बर्ष सत्ता चलाउन दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै संवैधानिक निकायमा नियुक्त गर्दा राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा उहाले जोड दिए । उनले भने, ‘सरकारको नेतृत्व गर्ने अधिकार पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’