कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फसाउन झुटा कुरामा जबरजस्ती आफूलाई दोषी बनाउन गिरोह सक्रिय भएको बताएका छन् ।
शनिबार कपिलवस्तुको जीतपुरस्थित बुद्ध रंगशालामा रास्वपाको खुलासभालाई सम्बोधन गर्दै उनले पछिल्ला समय आफूलाई फसाउन र झुटा कुरामा जबरजस्ती आफूलाई दोषी बनाउन गिरोह लागिपरेको तर नसक्ने बताएका छन् । ‘शक्तिको दुरुपयोग गरी झुटा र अनर्गल प्रचार गरेर मलाई कसैले कमजोर बनाउन सक्दैनौ, प्रयास नै नगरे हुन्छ। ’, लामिछानेले भने ।
उनले मानिसबाट समय समयमा कमजोरी हुने भएपनि आफूले आजका दिनसम्म पनि कसैमाथि अन्याय नगरेको बताएका छन् ।
उनले रास्वपाले बहुमतको सरकार हाँकेको दिन आफूहरुले देखाएका सबै सपना पूरा गर्ने र त्यो पूरा गर्न नसके राजनीतिबाटै अलग हुने घोषणासमेत गरे । उनले भने ’एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुनेछु । राम्रो गरुन्जेल घण्टी बजाउनुस्। नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्।’
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापति डिपि अर्यालले रास्वपाले नेपाललाई भावी पुस्ताका लागि बस्नयोग्य देश बनाउने बताएका छन् ।
‘भावी पुस्ताका लागि बस्नलायक देश बनाउने दायित्व रास्वपाले पूरा गर्नेछ। जनताको आशा र अपेक्षा पूरा गर्न रास्वपा सधैँ इमानदार रहनेछ । नागरिकको अहित हुने काम कहिल्यै गर्ने छैनौँ ।’
त्यस्तै शनिबारको भेलालाई पार्टीका केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, अर्जुन अधिकारीले पनि सम्बोधन गरेका थिए ।