४ असोज, काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबिच आज साँझ वार्ता हुँदैछ । उक्त वार्तामा सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहने छन् भने शिक्षकका तार्फबाट शिक्षक महासंघका प्रतिनिधि रहने छन् ।
सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेपछि शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । यो विधेयको मस्यौदा तयार पार्नुअघि सरकार र महासङ्घबीच २०७५ र २०७८ फागुनमा बिभिन्न सम्झौताहरु भएका थिए । तर हाल संसदमा पेश गरिएको उक्त विधेयकले उनीहरुले पटक पटक राख्दै आएका मागहरु सम्बोधन नभएपछि आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुले सरकारसमक्ष बिभिन्न १८ बुँदै माग राखेका छन् ।
जसमा उमेर हद कटेका अस्थायी प्रकृतिका शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउनुपर्ने, निजामती कर्मचारी सरहको तलब र ग्रेड हुनुपर्ने, विद्यालयका प्रधानाध्यापकहरूको नियुक्ति स्थानीय तहबाट हुन नहुने, शिक्षकको सरुवा र कार्यसम्पादन मूल्याङ्कन पालिकाहरूलाई दिन नहुने, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई निजामती कर्मचारीसरह दुर्गम भत्ता दिनुपर्ने लगायत मागहरु छन् ।