काठमाडौँ । सिंहदरवारभित्रै बलश्रम शोषण हुने गरेको पाइएको छ । काठमाडौँ महानगरले विश्व बाल श्रम विरुद्धको दिवसकाे दिन सिंहदरवारबाट २ जना बाल श्रमिकको उद्धार गरेपछि उक्त तथ्य बाहिरिएको हो ।
महानगरको बाल उद्धार टोलीले सिंहदरबारभित्रको प्रशासनीक अदालतको भवनमा रहेको क्यान्टिनबाट २ जना बाल श्रमिकलाई उद्धार गरेको हो । केहीदिन देखि बालश्रमिक विरुद्धको अभियान सुरु गरेको महानगरले बुधबार सिंहदरबार भित्रकै क्यान्टिनहरुमा छापा मारेर बाल श्रमिकहरुको उद्धार गरेको हो ।
त्यस्तै महानगरेकाे टाेलीले उर्जा तथा जलस्राेत मन्त्रालयकाे क्यान्टीनका निज बाल श्रम शाेषण भएकाे पाएकाे छ । महानगरेकाे टाेलीले उर्जा मन्त्रालयकाे क्यान्टीनबाट एक जनालाई उद्धार गरेकाे छ ।
सिहदरवारमा महानगरकाे छापा अहिले पनि जारी छ ।
काठमाडौँमा विभिन्न क्षेत्रमा बालबालिकामाथि शारिरिक तथा श्रम शोषण भैरहेको सूचना प्राप्त भएपछि उनीहरुको उद्धारका लागि महानगरपालिकाले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ । अहिले सोहि कार्यविधि अनुसार स्यंमसेवकको खोजी, पीडित बालबालिका खोजी देखि उद्धार र दिर्घकालीन व्यवस्थापन गर्न लागिएको हो ।
यसअघि काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले ६ महिनाका अन्तरालमा घरेलु कामदारका रुपमा पसलदेखि सांसद, प्रहरी, पूर्व न्यायाधीश, आइएनजीको अधिकारीको घरमा श्रम शोषण देखि यौन शोषणसम्म भोगका १९ जना बालिका र १८ जना बालकको उद्धार गरिसकेको छ । उद्धार भएका ३७ जना बालबालिका ८ वर्षदेखि १६ वर्ष उमेरका छन्, जो महानगरको अनुसन्धानमा रेड जोनमा परेका ७० जना मध्येका हुन् ।