२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरेका छन् ।
उनले भने ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । याे विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस् ।
थापाले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् । थापाले भने ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ?’
थापाले थपे, ‘जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो ।’