फुङ्लिङ । पूर्बी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा ९मुकुलुङ० मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरूले आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूको बैठकले केबलकार निर्माण सम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केबलकार निर्माणको कामलाई सहजीकरण गर्दै अधि बढ्ने निर्णय गरेका हुन् ।
केबलकार कम्पनीले केबलकारको निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो ।
उक्त बैठकमा उपस्थित राजनैतिक दलहरूले आ–आफ्नो आधिकारिक धारणा मार्फत केबलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन ।
बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरूले केबलकार जिल्लाको सर्वाङ्गीण विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए ।
आइएमई समूहको अगुवाइमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण गर्ने योजना रहेको छ ।
ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।