काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा) को केन्द्रीय समितिमा १४ जना सांसद पनि थपिएका छन् । यो सँगै रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने निर्णय गरेको हो । यस अघि कार्यसमितिमा नरहेका सबै सांसदलाई केन्द्रीय सदस्य बनाएको हो ।
यो निर्णयसँगै संसदीय दलका उपनेता समेत रहेका विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की(भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत पनि केन्द्रीय सदस्य भएका छन् ।
यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए ।