सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका परिसरमा स्थानीय र प्रहरीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।
नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत राख्ने नराख्ने विषयमा विवाद सिर्जना हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएको छ । शाहको टाउको गोली लागि घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीका कारण एकजनालाई खुटामा गोली लागेर गम्भीर घाइते भएको बताइएको छ अर्का एक प्रदशर्नकारी समेत घाइते भएका छन् । दोहोरो झडपका क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् ।
नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत गर्ने कि नगर्ने भन्ने विषयमा भएको विवाद समाधान गर्न बसेको सर्वदलिय बैठकमा झनै विवाद सिर्जना भएपछि झडप सुरु भएको हो । विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेसँगै नगरपालिका भवनमाथि तोडफोड भएको थियो ।
त्यस्तै प्रदर्शनकारीले नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालको घर र गाडीमा समेत तोडफोड गरेका छन् ।