काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले इन्द्रजात्रामा सहभागी हुन पुगेका समर्थक पक्राउ पर्नु दुखद भएको बताएको छ। बसन्तपुरमा इन्द्रजात्रा हेर्न पुगेका बालेनका समर्थकलाई केहीबेर अघि प्रहरीले पहिला कार्यक्रम स्थलबाट लखेटेर पछि नियन्त्रणमा लिएको छ ।
बालेनको फोटो र नाम लेखेको टिसर्ट लगाएर इन्दजात्रा हेर्न पुगेका ७ जना सर्वसाधारणहरू पक्राउ परेको सूचना आएको मेयरका स्वकीय सचिव भुपदेव शाहले बताए । ‘इन्द्रजात्रा हेर्न आउनु भएका सर्वसाधारणहरू को हुनुहुन्छ हामी चिन्दैनौँ’ स्वकीय सचिव शाहले भने,‘ सर्वसाधारण हुनुहुन्छ भन्ने सुनेका छौँ । उहाँहरूले मेयर साबको नाम लेखेको टिसर्ट लगाएकै कारण कार्यक्रम स्थलबाट लखेटिनु पर्ने वा पक्राउ गरिनु दुखद हो ।’
राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको मुख्य आयोजक काठमाडौँ महानगरपालिका नै हो । तर, आजको समारोहमा नगर प्रमुख शाह भने सहभागी हुने छैनन् । उनी देश बाहिर छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शाहविरुद्ध धारावाहिक विरोध जनाइरहे पछि समाजिक सञ्जालबाट मेयर शाह पनि ओली विरुद्ध उत्रिएका थिए । युवा पुस्तामाझ निकै लोकप्रिय रहेका बालेन र प्रधानमन्त्री बीचको द्वन्द्वको बाछिटाका रुपमा इन्द्रजात्रा घटनालाई अर्थ्याइएको छ ।