
काठमाडौँ । उच्च अदालत पाटनले चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाएपछि टेलिसिरियल ‘सक्किगोनी’को प्रसारण रोकिएको छ । अदालतको आदेशका कारण टेलिसिरियल ‘सक्किगोनी’को ९१ औँ भाग प्रसारण गर्न असमर्थ भएको निर्माणटिमले जनाएका छन् ।
सक्किगोनीका कलाकार अर्जुन घिमिरेका अनुसार टेलिसिरियलको ९१ औँ श्रृङ्खला चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसार गर्ने उद्देश्यले छायांकन गरिएको थियो ।
कलाकार घिमिरेले भने, ‘पाटन उच्च अदालतले हाम्रो चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि हामिले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल ‘सक्किगोनि’ को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पुर्णमा पर्न गएको असुविधा प्रती हामी क्षमाप्रार्थी छौँ ।’
सक्किगोनी टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा सिताराम कट्टेलले निर्वाह गरेको भूमिका विवादमा परेको थियो । हाल जन्मकैदको सजाय भुक्तान गरिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमले धुर्मुसले निर्वाह गरेको भूमिकामा प्रस्तुत भएको अनुहार, मुखाकृति, पहिरन, जीउडाल, कपाल, हाउभाउ, लवज आफूसँग मेल खाएको भन्दै सोविरुद्ध माघ २४ गते उच्च अदालत पाटनमा निवेदन हालेका थिए ।
त्यसपछि उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार सिनेमाको प्रचारमा रोक लगाउन अन्तरिम आदेश दिएका थिए ।
चलचित्र ‘लाज शरणम्’ फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारी छ ।