राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा भागबन्डा मिलेको छ ।
दलहरूको सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सीट लिने कांग्रेस नेता रमेश लेखकले बताए ।
शनिबार राति ढिलासम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो । तर एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि बैठक पुनः आइतबार बिहान बसेको थियो ।
आइतबार बसेको बैठकले कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ भने कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।
त्यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने भएको छ ।
एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिटमा चित्त बुझाएको छ भने जसपाले मधेस प्रदेशमा एकसिटमा चित्त बुझाएको छ ।
त्यस्तै गठबन्धनमा जनमोर्चा र जनमत पार्टीले समेत सिट दाबी गरेपनि उनीहरुलाई सिट बाँडफाँड भने गरिएको छैन ।