काठमाडाैँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको यादवका प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु । आजसम्म तपाईँको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’, राजीनामापत्रमा उनले लेखेका छन् ।
यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । जसपाबाट सरकारमा सहभागी भएका उनीहरुले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिएको छ ।
मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अभ्यास गरेपछि उनीहरुले राजीनामा दिएका हुन् ।