१० भदौ, सर्लाही- सलार्हीको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीका स्ववियू सभापति प्रेमराज दाहालले आफ्नो स्नातकको परीक्षा अर्कैलाई दिन लगाएर सम्पर्कविहिन भएका छन् ।
मानविकी संकायअन्तर्गत स्नातक तहको परीक्षामा सामेल हुनुपर्ने स्ववियू सभापति प्रेमराज दाहाल आफ्नो परीक्षा विष्णुकुमार श्रेष्ठलाई दिन लगाएर आफू भने सम्पर्कविहिन बनेका हुन् । आइतबार परीक्षा केन्द्र शुभजनता क्याम्पस बरहथवाबाट परीक्षा दिने क्रममा नक्कली परिक्षार्थी विष्णुकुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले नियन्त्रणमा लिएको हो । स्राेतका अनुसार प्रेमराज दाहाल यतिबेला पोखरामा छन्।
विष्णुकुमार श्रेष्ठलाई नियन्त्रण लिने प्रहरी अधिकृत भन्छन्, ‘नियन्त्रणमा लिइएका नक्कली विद्यार्थीले आफू स्ववियू सभापति प्रेमराज दाहालको परीक्षा दिन आएको बताएका छन् । साथै उनले दाहालको प्रवेशपत्रकाे फाेटाे मोबाइलमा खिचेर परीक्षा दिन पुगेका थिए ।’
प्रेमराज दाहाल माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।