गौर । रौतहटका छुट्टाछुट्टै स्थानमा दुई युवकको शव फेला परेको छ।
शनिबार गौरस्थित टिकुलियामा २० वर्षीय युवक रोहित सहनीको शव फेला परेको थियो भने आज बिहान राजदेवी नगरपालिका ५ पटाही टोल स्थित गढैया बागमती नदी किनारमा अर्का एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घरबाट शौच गर्न निस्किएका सहनीको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन्।
राजदेवी नगरपालिका–५ पटाही टोल स्थित गढैया बागमती नदीको किनारमा नाम, थर, वतन नखुलेको अन्दाजी २४/२५ वर्षीय युवकको शव पानीमा तैरिरहेको अवस्थामा प्रहरीले फेला परेको थियो ।
मृतकको मध्यान्नसम्म कुनै पहिचान नखुलेको र शवलाई प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा मृतकलाई चिन्न सक्ने व्यक्ति, आफन्त तथा परिवारका सदस्यहरुले जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क अनुरोध गरेको छ। युवकको मृत्यूको विषयमा अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिईन ।