काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले देशको आर्थिक विकासका लागि ग्रिल तथा स्टीलजन्य व्यवसाय अपरिहार्य भएको बताएका छन् ।
विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रिल तथा स्टीलजन्य व्यवसायको प्रवर्द्धन गर्न सकेमात्रै देशको आर्थिक विकासमा योगदान पुग्न सक्ने उनको भनाई थियो ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै ग्रिल तथा स्टिल उद्योगहरूको संरक्षण र प्रवर्द्धनका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
आधुनिक निर्माण व्यवसाय अगाडि बढ्छ त्यति नै यो क्षेत्रको जिम्मेवारी बढ्ने भन्दै मन्त्री तामाङले भने “दिनदिनै शहरीकरण बढ्दो छ आधुनिक भवन र पूर्वाधार निर्माण कार्य तीब्र रुपमा भइरहेको छ । पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रिल तथा स्टिल उद्योगहरूको भविष्य उज्ज्वल छ । निराश र विचलित नभइ अगाडि बढ्नुस् यो व्यवसायको भविष्य उज्ज्वल छ ।”
ग्रिल तथा स्टिल उद्योग र व्यवसायीहरूको हितको लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रमहरू कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा सम्बन्धित विभागीय मन्त्रीहरूसँग छलफल गरि समस्या समाधानको बाटो खोज्न आफूले पहल गर्ने उनले आश्वासन समेत दिए ।
महासङ्घका अध्यक्ष ठुलोबाबु श्रेष्ठले व्यवसायीहरूका तर्फबाट गर्नुपर्ने सुधारहरू तथा मापदण्ड पुऱ्याउँदा पनि नेपाल सरकारले व्यवसाय दर्ता गर्न आनकान गर्न थालेपछि त्यसको कानुनी तथा व्यवहारिक उपचारको खोजी किन नगर्ने भन्दै प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, उद्योगमन्त्री, उर्जा तथा जलश्रोत गृहमन्त्रीलगायतसँग भेटघाट गरि सात बुँदै ज्ञापन पत्र समेत बुझाएको बताए ।
ग्रील तथा स्टील व्यवसाय हरेक हिसाबले जोखिमयुक्त व्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुविधा सहितको कर्मचारी नियुक्ति, कम्पनी ऐन र नियम बमोजिम जीवन बीमा, म्यादी बीमा, स्वास्थ्य बीमा, मूल्यमा एकरूपता र अन्य आधारभुत कुरा, उत्पादनबाट हुने खुद मुनाफाबाट गर्नुपर्ने सामाजिक उत्तरदायित्वलाई समेत संस्थागत गर्दै लैजाने विषयमा महासङ्घले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा कार्यक्रमहरू बनाउने तथा यसैवर्ष मूल्य सूची प्रकाशन गरि आम व्यवसायीहरूको व्यवसायमा पु¥याउने कार्य भइरहेको बताए ।