काठमाडाैँ । जोगीको भेषमा भिख माग्न गएर कानको रिङ चोर्ने २ भारतीय नागरिक पक्राउ परेका छन् । बिहिबार बिहान करिब ९ बजे सेतोपुल क्षेत्रमा जोगीको भेषमा भिख माग्न गएर कानको रिङ चोर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुली कमलामाई १२ घर भई सेतोपुल बस्दै आएकी ३५ वर्षीया उर्मिला श्रेष्ठको कोठामा भिख माग्न पुगेका अपरिचित दुई जोगीहरुले श्रेष्ठले लगाएको कानका दुवै पट्टीको सुनको रिङ्ग खोली चोरी गरेका हुन् । चोरी भएको सूचनापश्चात खटिएको प्रहरी वृत्त मालिगाउँको टोलीले चोरीमा संलग्नहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी नवराज अधिकारीले बताए ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत हरियाणा कर्नाल स्थायी घर भई हाल बौद्ध नयाँबस्ती बस्ने वर्ष २६ वर्षीय देवु दया र सोही ठेगाना भएकी वर्ष ४० की जेलिना नाम भएकी एक महिला रहेका छन् ।
प्रहरीले उनीहरुलाई चोरी भएको सुनसहित बोद्धबाट नियन्त्रणमा लिएको हो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।