वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताको छानविन नगर्न वडा अध्यक्षहरुले विरोध प्रदर्शन गर्न लागेका छन् ।
सिधाकुराले पुस २४ गते वीरगंज महानगरपालिकाका मेयर राजेशमानले हुँदै नभएको छोरीलाई किर्ते गरी नागरिकता जारी गरेको विषयमा सप्रमाण समाचार प्रकाशन गरेको थियो ।
सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआईबी तथा गृह मन्त्रालयमा उजुरी परेको थियो । उक्त विषयमा यी निकायहरुले छानविन प्रक्रिया अघि बढाएका छन् । सोही छानबिन प्रक्रियालाई दबाउने उद्देश्यले आन्दोलन गर्न लागिएको हो ।
मेयर समर्थक वडा अध्यक्षहरुले किर्ते नागरिकता लुकाउन मेयरको बचाउनमा जुलुस निकाल्न लागेको नभनेपनि एकअर्कासँग कुरा बाझिने तर्क गरिरहेका छन् । कसैले उक्त कार्यक्रम नागरिक समाजले गर्न लागेको बताएका छन् भने कसैले वीरगंजलाई बदनाम गर्न केही तत्वहरु लागेकाले उनीहरका विरुद्ध प्रदर्शन गर्न लागेको भन्ने दावी गरेका छन् । मेयरको समर्थनका लागि गाऊँगाऊँबाट ट्याक्टर र मोटरसाइकललाई तेल, नास्ता लगायतको व्यवस्थापन महानगरका मेयर र उनका निकट वडा अध्यक्षहरुले गरेकाे स्राेतले बताएकाे छ ।
वीरगंज महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारले मेयरले गरेको किर्ते नागरिकता छानविनको क्रममा छ तर महानगरलाई बदनाम गराउने तत्व लागि परेकाले जुलुस निकाल्न लागिएको बताए । उनले भने, ‘मेयरले गरेको गल्तीका लागि कानुन छ तर उहाँलाई नै फोकस गरेर जुलुस निकाल्नु, वीरगंजलाई बदनाम गर्नु नराम्रो भएकाले हामीहरु विरोध कार्यक्रम आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र पनि बुझाउन लागेका छौँ ।’
यता वीरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरासियाले भने वीरगंजको विकास र पहिचान नमेटोस भन्ने उदेश्यले मेयर साबले गरेको सराहनीय कामको समर्थनका लागि जुलुस निकाल्न लागेको बताए ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहको किर्ते नागरिकता बचाउका लागि वडा नम्बर ३ का बैजुलाल स्वर्णकार, वडा नम्बर ४ नेपाली कांग्रेसका जगत साह कानु, वडा नम्बर १२ एमालेका सुरेश गुप्ता, वडा नम्बर १४ जसपाका का महबुब एल्याही, वडा नम्बर १५ का रमेश यादव, वडा नम्बर १७ का एमालेका सन्जु छतकुली, वडा नम्बर ३० जसपाका मनोज यादव लगायतले मेयरको समर्थनमा जुलुस निकाल्न लागेको स्रोतको दावी छ ।
यता वीरगंजको विकासका लागि जुलुस निकालिएको प्रतिक्रिया दिइरहदा वडा नम्बर १ जसपाकै वडा अध्यक्ष मनोज पटेल भने आफू यस विषयमा जानकार नभएको बताउँछन् । उनी भन्छन्, ‘किर्ते गरेका व्यक्तिको समर्थनमा कस्तो जुलुस ?’ यस्तै वडा नम्बरका २० एमालेका रामकिशाेर सिंह परागलाई समेत आन्दोलनको विषयमा जानकारी छैनन् ।
उनी भन्छन्, ‘वीरगंजको विकास र पहिचानको लागि आन्दोलन गर्नै पर्दैन । यस्तो विषय हास्यास्पद हो विकासका लागी जुलुस र ज्ञापन पत्र जरुरी नै छैन । वडाको काम समेत आफँैले गरिरहेका छन् । वडाले गर्ने बत्ति लगाउने, बत्ति झुण्डयाउने गरेर विकास हुन्छ त ? स्कुल धराशायी नै छ, स्कुलमा शिक्षक छैन् । यो विषयमा नलागेर गल्ती गर्नेलाई कानुनले सजाय दिन्छन्, घटना दबाउन किन् कसैको पक्ष लिनुपर्यो ?’
महानगरका मेयर सिंहले गरेको किर्तेको विषयमा जिल्ला प्रशासन कार्यालयले आफ्ना ४ जना कर्मचारीलाई कारवाही गरेर मेयर सिंहमाथि अनुसन्धान केन्द्रीत गरेको छ ।