काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषिमन्त्री र सरकारले किसानको समस्या नबुझेको आरोप लागाएका छन् । सरकारले किसानको समस्या नसुनेको भन्दै किसानले गोठमा पालेका पशुचौपाया सिंहदरबार र बालुवाटारमा लगेर हुल्दिने भन्दै तयार रहन सरकारलाई चेतावनी दिएका छन् ।
ढकालले कृषिमन्त्री निदाएको भन्दै किसानका लागि गरेको कुनै कामबारे प्रश्न गरे । ‘तपाईँ कृषिमन्त्री भएपश्चात मनलाग्दी नियुक्तिबाहेक तपाईँले कृषि क्षेत्र र किसानका लागि गरेको काम के हो ? एउटा काम भनिदिनुस् । ’ ढकालले भने, ‘दुध किसानको समस्या उस्तै छ । मिल्क होलिडे सुरु भएको छ । किसानले दुधको पैसा पाएका छैनन् । अब यो सरकार र कृषिमन्त्रीलाई ब्यूँझाउनलाई किसानहरुले पालेका पशुचौपायालाई सिंहदरबारमा हुलिदिने हो की बालुवाटार हुल्दिने हो ? नत्र सरकार ब्यूँझिँदैन । किसानले तयारी गरेका छन् । सांकेतिक आन्दोलन हो दुध पोखेर गरेको आन्दोलन । अब किसानले गोठमा पालेका पशुचौपाया सिंहदरबार र बालुवाटारमा लगेर हुल्दिन्छन् । सरकार तयार रहोस् ।’