२९ भदाै, काठमाडौं - हङकङबाट ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा सीआईबीले प्रतिवादी बनाएकाहरुमाथि आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ जसमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । त्यस्तै पक्राउ परेका ३२ मध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले सरकारी वकिल कार्यालयलार्य राय दिएको छ ।
भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध मुद्दा नचलाउन सीआईबीले राय दिएको हो।
सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमाथि सरकारी वकिल र सीआईबीबीच थप छलफल चलिरहेकाले उक्त मुद्दा आइतबार मात्र दर्ता हुने भएको हो ।
सीआईबीले प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, नागरिकता ऐन, संगठित अपराध, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।