काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला अदालत काठमाडौँबाट बहस पश्चात् निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्ती जारी गर्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएका हुन् ।
सो घटनामा यदि पार्टीको कुनै पनि सदस्यको संलग्नता भेटिएमा कानुन बमोजिम कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने रास्वपाले जनाएको छ । यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि कदापी स्वीकार्य नहुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्ला अदालत काठमाडौँबाट बाहिरिँदै गर्दा बाहिर सडकमा त्रिपाठीमाथि दुर्व्यवहार भएको थियो ।
उनले आज काठमाडौँ जिल्ला अदालतमा जारी रवि लामिछानेको थुनछेक बहसमा रविको विपक्षमा बहस गरेका थिए । अदालत बाहिर रहेको मानिसहरुको समूहले त्रिपाठी विरुद्ध नाराबाजी गर्दै उनलाई धक्का दिएर लखेटेका थिए । उनलाई अन्य मानिसहरूले भीडबाट बचाएका थिए ।
अदालत परिसरमा भेला भएका मानिसहरु को हुन भन्ने खुलेको छैन् ।