काठमाडौँ । निकै तामझामले शिलान्यास गरिएको पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोलामा पुल निर्माण कार्य अलपत्र बनेको छ । २०७७ पुषमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवासँग ठेक्का सम्झौता भई २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । ९ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो ।
७५ मिटर लम्बाई र ११ मिटर चौडाई रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने भएपनी हालसम्म पुलको एउटा मात्रै पिल्लर (फाउन्डेसन)तयार भएको छ । बजेट अभावकै कारण पुल निर्माणको काम ठप्प भएको सडक डिभिजन कार्यालय पुल महाशाखाका ईन्जिनियर सन्तोष भण्डारीले बताए ।
सुरुमा ६० लाख रुपैयाँ मात्रै बिनियोजन भएको थियो । अहिले चालू आर्थिक वर्षमा ४७ लाख बिनियोजन भएको छ । ठेकेदारले फाउन्डेसनको काम सुरु गर्दा अघिल्लो बर्षकै भुक्तानी लिन बाँकी रहेकाले चालू आबको बजेट समेत भुक्तानी भैसकेको ईन्जिनियर भण्डारीले जानकारी दिए । ‘अहिले जम्मा ४७ लाख रुपैयाँ मात्रै बिनियोजन भएकोमा पहिलेको कामकै भुक्तानी दिन बाँकी थियो त्यो भुक्तानी दिदा अब ११÷१२ लाख मात्रै बाँकी होला’, भन्डारीले भने ।
हाल बजेट नै बिनियोज नभएका कारण पुल निर्माणकार्य ठप्प छ । २०७९ चैत्र १२ गते पुलको शिलान्यास गरिएको थियो ।
पुल नहुँदा घुमाउरो लामो दुरीको बाटो प्रयोग गर्नु पर्दा स्थानियलाई बर्षायाममा निकै सास्ती हुने गरेको छ । पुल निर्माणपछि त्रिवेणी धाम सम्म पुग्न र त्यस क्षेत्रका नागरिकलाई आवजजावतमा सहज हुने विश्वास लिईएपनि निर्माण कार्य अलपत्र बन्दा स्थानिय निराश बनेका छन । थप बजेटको सुनिश्चितता नभई निर्माण कार्य अघि नबढ्ने देखिएको छ ।