काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन् ।
शिष्टाचार भेटका लागि आएका बोल्डर नगरका प्रमुख आरोन ब्रोकेटले, आफ्नो नगरमा नेपाली समुदायले सांस्कृतिक भवन निर्माण गर्ने योजना बनाएको बताउँदै यसमा आपसी सहभागिताको विषय उठाएका थिए । सोही विषयमा प्रतिक्रियामा शाहले सहयोग गर्न सकिने बताएका हुन् । भेटका क्रममा मेयर साहले भने, ‘हामी दुई नगरका जनताको सम्बन्ध वृद्धि हुने क्रियाकलापलाई जोड दिन चाहन्छौँ ।’
ब्रोकेटले काठमाडौँ महानगरपालिकाले गरेका कामका विषयमा आफूले विभिन्न माध्यमबाट जानकारी पाएको बताउँदै प्रमुख शाहलाई बोल्डर नगरको सहरी व्यवस्थापन अवलोकनका लागि निमन्त्रणा दिएका छन् । भेटका क्रममा दुई नगरका प्रमुखहरुले हस्ताक्षर गरी भगिनी सम्बन्धलाई निरन्तरता दिएका छन् । काठमाडौँ महानगर र अमेरिकाको बोल्डर नगरबीच २०७६ बैशाख २९ गते (सन् २०१९ मे १२) भगिनी सम्बन्ध स्थापना भएको थियो ।
काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय १६ वटा नगरसँग भगिनी सम्बन्ध स्थापित छ । जसमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ ।
यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।